Petition to श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र

Queer Youth Group Queer Youth Group · Kathmandu, NP

लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र

2 Supporters

9,998 needed to reach 10,000
Human rights in Bagmati, Central Development Region, NP

हामी, हस्ताक्षरित संघसंस्था, समूह, संजाल तथा व्यक्तिहरू क्वयेर विविधता अन्तर्गत पहिचान गर्छौँ र स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा पारलैङ्गिक तथा विविध लैङ्गिकताका व्यक्तिहरूको समानता र मानव अधिकारको सुनिश्चिततामा प्रतिबद्ध छौँ । समाजको मूलधार पारंपारिक द्वयसांखिक (बाइनेरी) मान्यता भन्दा परका लैङ्गिक पहिचानका व्यक्तिहरूको आवश्यकताहरूलाई अग्र राख्दै समानता र भेदभाव विरुद्धको सिद्दान्तलाई समर्थन गर्न हामी यस मागपत्र मार्फत नेपाल सरकारसँग माग राख्दछौँ । पारलैङ्गिक तथा विविध लैङ्गिक व्यक्तिहरू प्रति असमानता, विभेद, हिंसा र लाञ्छना सबै क्षेत्रहरूमा हुने गर्दछ भने यस मागपत्रले मुख्यतः परिचयपत्र लगायत मानिसका लागि महत्वपूर्ण रहेको सम्पूर्ण कागजातहरूको मुद्दामा केन्द्रित भएका छ । मान्यताको र लैङ्गिक पहिचान बारे सघन बुझाईको अभाव सिमान्कृत लैङ्गिक पहिचानका व्यक्तिहरूका निम्ति संकटमय विषय हो र यसले उनीहरूको सामाजिक जोखिमहरूलाई अझै तीव्र बनाउनका साथै समाजमा रहिआएका असमानताहरूलाई समेत आवर्धन गर्छ ।

क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस (मे १७) का दिन सिमान्कृत लैङ्गिक पहिचानका व्यक्तिहरूको देहायका चिन्तन र आवश्यकताहरूलाई सम्बोधन र सुनिश्चित गर्न हामी नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूलाई अनुरोध गर्दछौँ ।

(क) लिंगको महल

१) लिंगको महलमा पुरुष (M), महिला (F), गैर-द्वयसांखिक (X), तेस्रोलिङ्गी (T) र खुलाउन नचाहने गरी पाँच विधाहरू हुनुपर्छ ।

२) महिला भन्नाले महिला लैङ्गिक पहिचान भएका सबै प्रकारका महिला बुझ्नुपर्छ, पारलैङ्गिक महिला र अन्तर्लिङ्गी महिला सहित । पुरुष भन्नाले पुरुष लैङ्गिक पहिचान भएका सबै प्रकारका पुरुष बुझ्नुपर्छ, पारलैङ्गिक पुरुष र अन्तर्लिङ्गी पुरुष सहित ।

३) "गैर-द्वयसांखिक" भन्नाले अलिङ्गी, दुईलिङ्गी, लैङ्गिक गैर-अनुरूपी व्यक्ति, तरल लैङ्गिकता भएका व्यक्ति, अर्धलिङ्गी, लगायतका महिला र पुरुषको द्वयसंख्या भन्दा परका विविध लैङ्गिक पहिचानहरूलाई एकमुष्ठ रूपमा बुझाउने छाता शब्द भनेर बुझ्नुपर्छ ।

४) तेस्रोलिङ्गी भन्नाले नेपाल लगायत दक्षिण एसियामा हिज्रा, मेटी, कोथी, घाँडे, मौगियाह, मैंबाबु, फुलुमुलु, फोलोक मोलोक लगायत आफ्नो छुट्टै समाज, समुदाय, सामुदायिक बसोबास, जीवनशैली, संस्कृति, रीतिरिवाज, मूल्य मान्यता, सामाजिक व्यवस्था तथा प्रणाली र कहिलेकाहीँ आफ्नै छुट्टै भाषिका समेत भएका परम्परागत समुदायहरूलाई इङ्गित गरिएको समाजिक द्वयसंख्यामा गैर-संरूपी लैङ्गिकता भनेर बुझ्नुपर्छ ।

(ख) लिंगको महल र नाम परिवर्तन सम्बन्धी व्यवस्था

१) जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग र मृतनाम बमोजिम बनिसकेका कागजातहरू आफ्नो लैङ्गिक पहिचान अनुसार आफूले इच्छाएको नाम उल्लेख गरेर पुनः प्राप्ती गर्न पाउने व्यवस्था हुनुपर्छ । (अ) १६ वर्ष उमेर नपुगेका वा जुनसुकै उमेर भएपनि केही कारणवश नागरिकता बनाइ नसकेका व्यक्तिहरूले जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग र मृतनाम बमोजिमका कागजपत्रहरू (जन्मदर्ता, शैक्षिक प्रमाणपत्रहरू, नाबालिक राहदानी, इत्यादी) संसोधन गरी आफ्नो लैङ्गिक पहिचान र आफूले इच्छाएको नाम उल्लेख गरी पुनःप्राप्त गर्ने व्यवस्था हुनुपर्छ । (आ) जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग र मृतनाम बमोजिम नागरिकता बनाइसकेका व्यक्तिहरूले आफ्नो लैङ्गिक पहिचान अनुसार आफूले इच्छाएको नाम उल्लेख गरेर पुनः प्राप्ती गर्न पाउने र त्यस नागरिकताको आधारमा अरु सबै कागजपत्रहरू (जन्म दर्ता, शैक्षिक प्रमाणपत्रहरू, राहदानी, मतदाता परिचयपत्र, लालपुर्जा, इत्यादी) पनि संसोधन गरी पुनः प्राप्त गर्ने व्यवस्था हुनुपर्छ ।

२) कुनै पनि व्यक्तिले आफ्नो स्व:अनुभूती अनुसारको लैङ्गिक पहिचान हासिल गर्नु निजको नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकार अन्तर्गतको विषय हो । यसलाई अरु व्यक्ति, समाज, राज्य वा कानूनले निर्धारण गरिदिनु मिल्दैन । लिंगको महल र नाम परिवर्तन गर्नका निम्ति आत्मनिर्णय र स्वःपहिचान नै आधार हुनुपर्छ । व्यक्तिको आफ्नो लैङ्गिक पहिचान अनतिक्रमणिय हुन्छ र यसमा कुनै गैर-स्वयमले हस्तक्षेप गर्नुहुँदैन ।

३) कुनै पनि व्यक्तिले आफूले इच्छाएको नाम सहित आफ्नो लैङ्गिक पहिचान अनुसारको परिचयपत्र पाउनका निम्ति नीजलाई आफ्नो आत्मसम्मान र प्रतिष्ठामा आँच आउने, नीजको अरु मानव अधिकार हनन तथा उल्लंघन हुने, नीजको शारीरिक निष्ठा र स्वायत्ततामा खलल पुर्याउने, नीजको जीउ ज्यानमा अनुत्क्रमीय परिवर्तन ल्याउन बाध्य पार्ने र/वा नीजलाई आफ्नो जीवन प्रतिको आत्मनिर्णय र वैयक्तिक स्वतन्त्रताको अतिक्रमण गर्ने प्रकारका सर्तहरू राखिनुहुन्न र त्यस्ता मापदण्डहरू पालना गर्न बाध्य तुल्याउनु हुँदैन । आफूले इच्छाएको नाम सहित आफ्नो लैङ्गिक पहिचान अनुसारको परिचयपत्र पाउनका निम्ति कुनै प्रकारको मेडिकल सिफारिस, शल्यक्रिया गरेको हुनुपर्ने जस्ता बाध्यात्मक प्रावधानहरू हुनुहुँदैन । व्यक्तिको लैङ्गिक पहिचानलाई गैर-स्वयमले निर्धारण गरिदिने प्रकारको कुनै पनि मापदण्ड हुनुहुँदैन ।

४) जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग र मृतनाम बमोजिम बनिसकेका कागजातहरू आफ्नो लैङ्गिक पहिचान अनुसार आफूले इच्छाएको नाम उल्लेख गरेर पुनः प्राप्ती गर्नका निम्ति स्वःघोषणाको आधारमा सरल र समयोचित प्रशासनिक प्रकृया हुनुपर्छ ।

(ग) लिंगमा "अन्य" महल

१) गृह मन्त्रालयले जारी गरेको "यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका, २०६९"को खारेजी र यस मागपत्रले मागेको प्रावधान तथा सघन समावेशी र विविधतापूर्ण परिभाषाहरू सहितको कानूनी व्यवस्थाको स्थापनाको माग गर्दछौँ ।

२) लिंगको महलमा "अन्य" उल्लेख गरेर नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई पनि उक्त नागरिकता संसोधन गरी आफ्नो लैङ्गिक पहिचान उल्लेख गरी पुनःप्राप्ती गर्न पाउने व्यवस्था हुनुपर्छ ।

३) यस दस्तावेजको खण्ड (क) बमोजिममा लिंगको विधाहरू उपलब्ध गराइसकेपछी "अन्य" विधालाई तत् पश्चात् बन्द गर्नुपर्छ र लिंगको महलमा "अन्य" उल्लेख भएको नागरिकता भएका व्यक्तिहरूले उक्त नागरिकता संसोधन गरी आफ्नो लैङ्गिक पहिचान उल्लेख गरी पुनःप्राप्ती गर्न सकून् भनी यस नयाँ प्रावधान बारे सार्वजनिक सूचना जारी गरी गर्नुपर्छ ।

४) यस नयाँ प्रावधान , त्यसै किसिमले शान्तिपूर्ण, झनझट-मुक्त र प्रभावकारी रूपान्तरण हुनुपर्छ ।

(घ) लिंग खुलाउन नचाहने

१) कतिपय मानिसहरूको लैङ्गिकता तरल हुन्छ जुन उनीहरूको जीवनभर स्थिर हुँदैन वा परिवर्तनशलीन हुन्छ । त्यसैले कतिपय मानिसहरू आफूलाई लैङ्गिकताका कुनै शब्दहरूले पहिचान गर्न चाहँदैनन् वा आफ्नो लैङ्गिकता खुलाउन चाहँदैनन् । लैङ्गिक पहिचान र प्रतुतीकरण गहिरो व्यक्तिगत अनुभव हो । तसर्थ, कुनै निश्चित लैङ्गिक महल छान्न बाध्य नगरी नागरिकता प्राप्त गर्न सकिने प्रावधान हुन्छ, जसले नागरिकता र अरु कागजातहरूमा नीजले लैङ्गिकता उल्लेख गर्नबाट अप्ट-आउट गर्न सक्ने सुनिश्चितता हुन्छ ।

(ङ) भाषा

१) पुरुषहरूलाई पुरुषबोधक शब्दहरू, महिलाहरूलाई महिलाबोधक शब्दहरू प्रयोग गरेको जस्तै गैर-द्वयसांखिक व्यक्तिहरूलाई लैङ्गिक तटस्थ शब्दहरूको प्रयोग गर्नुपर्छ र तेस्रोलिङ्गी व्यक्तिहरूलाई लैङ्गिक तटस्थ शब्दहरू अगाडी 'तेस्रोलिङ्गी' राखी प्रयोग गर्नुपर्छ भन्ने विषय कानुनमा स्पष्ट उल्लेख गर्नुपर्छ । उदाहरणका लागि : पुरुषहरूलाई "छोरा", भने महिलाहरूलाई "छोरी" र गैर-द्वयसांखिक व्यक्तिहरूलाई "सन्तान" र तेस्रोलिङ्गी व्यक्तिहरूलाई "तेस्रोलिङ्गी सन्तान" ।

२) पुरुषहरूलाई श्रीमान् (Mr.) र महिलाहरूलाई श्रीमती (Ms.) भनेर सम्बोधन गरेको जस्तै गैर-द्वयसांखिक व्यक्तिहरूलाई श्रः (Mx. - मुक्स) र तेस्रोलिङ्गी व्यक्तिहरूलाई तेस्रोलिङ्गी Third Gender भन्ने भनेर सम्बोधन गरिनुपर्छ । अन्यथा सबै व्यक्तिहरूलाई लैङ्गिक तटस्थ हिसाबले "श्री" (M. एम) वा नाम पछाडी "ज्यू" थपेर सम्बोधन गर्न पनि सकिन्छ ।

३) नेपाली भाषामा तृतिय व्यक्ति एकवचन सर्वनाम लैङ्गिक तटस्थ भएतापनि, अङ्ग्रेजीमा भने लैङ्गिकताबोधक छ । तसर्थ अङ्ग्रेजी प्रयोग गर्ने कागजातहरूमा “they/them/theirs” सर्वनामलाई लैङ्गिक तटस्थ तृतिय व्यक्ति एकवचन सर्वनामका रूपमा अपनाउनुपर्छ ।

४) कुनै पनि व्यक्तिलाई सम्बोधन गर्नका निम्ति, नीज कसरी सम्बोधन हुन चाहन्छ भनेर नीजलाई सोधी सोही अनुसार सम्बोधन गरिनुपर्छ ।

(च) गोपनियता

१) असान्दर्भिक रूपमा असान्दर्भिक हिसाबले व्यक्तिको लैङ्गिक डाटा संकलन गरिनुहुँदैन । सबै ठाउँमा सबै प्रकारका कागजहरूमा लैङ्गिक डाटा संकलन वा लैङ्गिकता उल्लेख गर्न नै पर्ने आवश्यकता नहुन सक्छ । कुनै व्यक्तिको लैङ्गिकता असान्दर्भिक भएको खण्डमा त्यस्ता डाटा संकलन र उल्लेख गराउने गरिनुहुँदैन ।

२) प्रत्येक व्यक्तिको लैङ्गिक पहिचानलाई नीजको सामाजिक सुरक्षा र गोप्यनियताको दृष्टिकोणबाट हेरेर नीजलाई असुरक्षित महसुस हुने गरी अनावश्यक ढङ्गमा असान्दर्भिक अवस्थामा खुलाउन बाध्य पार्नुहुँदैन ।

३) लैङ्गिक डाटा संवेदनशील हुन्छ, विशेष गरी महिला र पुरुष बाहेकका विधाहरूमा कागजात बनाएका व्यक्तिहरूको डाटा अझै संवेदनशील हुन्छ । यस्तो डाटाको सुरक्षा सम्बन्धी राज्यले नीतिनियम र संयन्त्रहरू बनाउनुपर्छ ।

४) हरेक व्यक्तिलाई जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग, उसको मृतनाम, आफ्नो लैङ्गिक पहिचान अनुरूप जीवनयापन गर्न अघिको तस्वीरतथा भिडियोहरू सहित आफ्नो लैङ्गिक पहिचान सम्बन्धी गोपनियता कायम राख्ने अधिकार छ । आफ्नो इच्छा वा मञ्जुरी बिना यस्तो विवरण खुलाइदिने, प्रकाशन गरिदिने वा सार्वजनिक गरिदिने नीजको गोपनियताको अधिकारको हनन हो ।

५) कसूरको सिलसिलामा अनुसन्धान गर्नुपरेमा, शरीर वा स्वास्थ्य परीक्षण गर्न वा उपचार गर्न आवश्यक परेको अवस्थामा आफ्नो लैङ्गिक पहिचान, यौनाङ्ग वा यौनिकताका बारेमा सूचना दिनुपरेमा आन्तरिक र सम्बन्धित व्यक्ति तथा निकायहरूले मात्र संकलन गरी उक्त सूचनाको सबै हिसाबले गोपनियता कायम हुनुपर्छ ।

६) पहुँचलाई स्वतः मञ्जुरी मान्नुहुँदैन । नीज स्वयम बाहेक अरु कुनै व्यक्तिसँग नीजको लैङ्गिक पहिचान अनुसारको जीवनयापन हासिल गर्न अघि नीजको तस्वीर, भिडियो, अभिलेख, र विवरणहरूको पहुँच हुँदैमा त्यसलाई मञ्जुरी भनेर अर्थ लगाउनु मिल्दैन । एउटा प्रयोजनको लागि संकलन गरिएको व्यक्तिका ती विवरणहरूलाई अन्य प्रयोजनमा प्रयोग गर्नु वा संकलन गरेको व्यक्ति वा निकायले मञ्जुरी बिना कुनै ढाँचा/स्वरूप वा/र माध्यममा अरु व्यक्ति, संस्था वा निकायलाई दिनु मिल्दैन ।

(छ) महत्वपूर्ण व्यवस्थाहरू

१) लैङ्गिक पहिचान बारेका संवादहरू मुख्यतः नागरिकतासम्बन्धीका प्रावधानहरूमा मात्र भएका हुन सक्छन् । यो मागपत्रले व्यक्तिको जीवनभर आवश्यक सबै प्रकारको परिचयपत्र, प्रमाणपत्र र कागजातहरूलाई समेट्दछ ।

२) महिला र पुरुष भन्दा परका लैङ्गिक महलहरू उल्लेख गरेको नागरिकता र कागजात हुने व्यक्तिहरू विभिन्न प्रकारका चुनौती, बाधा र विभेदको शिकार र जोखिममा हुन्छन् तसर्थ यी नागरिकतावाहकहरूलाई सम्बोधन हुने गरी विभेद विरुद्ध र समानताका लागि कानूनी व्यवस्थाको सुनिश्चितता हुनुपर्छ ।

३) “लैङ्गिक पहिचान”लाई “यौन अभिमुखिकरण”सँग मिसाउनुहुँदैन । लैङ्गिक पहिचान (Gender identity) र यौन अभिमुखिकरण (Sexual orientation) छुट्टा छुट्टै विषयहरू हुन् । कुनै व्यक्ति कुन लैङ्गिकताका अरु व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक (sexual and romantic) आकर्षण महसुस गर्दछ भन्ने आधारमा नीजको यौनिक पहिचानलाई यौन अभिमुखिकरण भनिन्छ । जस्तै कुनै व्यक्तिलाई आफूभन्दा फरक लैङ्गिकताका व्यक्ति तर्फ आकर्षण हुन्छ कि, आफू जस्तै लैङ्गिकताका व्यक्ति तर्फ आकर्षण हुन्छ कि, इत्यादी विषयहरू हुन् ।

४) समावेशी सिदान्त र संविधान बमोजिम सिमान्कृत लैङ्गिक पहिचानका व्यक्तिहरूलाई आरक्षण र सकरात्मक विभेदको प्रावधान हुनुपर्छ ।

परिभाषाहरू

यौन विशेषता (Sex characteristics) : मानिसको यौनाङ्ग वा प्रजनन अङ्गबाट छुट्टिने शारीरिकी भिन्नता ।

अन्तर्लिङ्गी (Intersex) : पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तर्लिङ्गी व्यक्ति भनिन्छ । अन्तर्लिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तर्लिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तर्लिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् ।

लैङ्गिक पहिचान (Gender identity) : लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत अनुभूती र अनुभव एवं भित्री मनबाट आएको आन्तरिक बोध र नीजले त्यसलाई गर्ने प्रस्तुतीकरण तथा आफ्नो लैङ्गिकता चिनाउन प्रयोग गर्ने शब्दवाली हो ।

जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग (Sex assigned at birth) भन्नाले सामाजिक मूल्य मान्यता अनुसार कुनै बच्चा जन्मन बित्तिकै नीजको यौन अङ्ग वा विशेषताको आधारमा नीजलाई केटा वा केटी भनेर गरिने निर्धारण भनी सम्झनुपर्छ । जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्ति (Assigned male at birth) भन्नाले कुनै बच्चा जन्मन बित्तिकै नीजको यौनाङ्ग लिंग भएको आधारमा नीजलाई केटा / पुरुष भनी गरिएको निर्धारण भनी सम्झनु पर्छ । जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्ति (Assigned female at birth) भन्नाले कुनै बच्चा जन्मन बित्तिकै नीजको यौनाङ्ग योनी भएको आधारमा नीजलाई केटी / महिला भनी गरिएको निर्धारण भनी सम्झनु पर्छ ।

त्याचलिङ्गी / त्याचलैङ्गिक व्यक्ति (Cisgender person) : जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । त्याचलैङ्गिक र पारलैङ्गिक विपरीतार्थी शब्द हुन् । "त्याचलैङ्गिक" शब्दको अभावमा "यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू" लाई मात्र सामान्य (normal) वा सामान्य लिङ्गका व्यक्ति (normal gender) भनिने गरिन्थ्यो जसकारण अरु लैङ्गिक पहिचानका व्यक्तिहरूलाई असामान्यकरण (abnormalization) भयो । हाम्रो समाजले यस प्रकृतिका मानिसहरूलाई मात्र "सामान्य" मान्ने सामाजिक भाष्यलाई तोड्दै, सबै लैङ्गिक पहिचानहरू सामान्य हुन् भन्ने भाष्य कायम गर्न यो शब्दको उत्पत्ती भएको हो । कुनै पनि व्यक्ति जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको र लैङ्गिक पहिचान पुरुष हो भने ऊ त्याचलैङ्गिक पुरुष (cisgender man/cisman ) र कुनै पनि व्यक्ति जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको र लैङ्गिक पहिचान महिला हो भने ऊ त्याचलैङ्गिक महिला (cisgender woman/ciswoman) भनिन्छ ।

पारलिङ्गी / पारलैङ्गिक व्यक्ति (Transgender person) : जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । पारलैङ्गिक पुरुष (transgender male/transman) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् । पारलैङ्गिक महिला (transgender female/ transwoman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । लिंग लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् । अङ्ग्रेजीमा यसलाई Men of trans experience वा Women of trans experience पनि भनिन्छ ।

नोट: त्याचलिङ्गी / त्याचलैङ्गिक वा पारलिङ्गी / पारलैङ्गिक शब्दहरू विशेषण हुन् । यसलाई कृपया "पारलिङ्गीहरू", "पारलैङ्गिकहरूको संस्था" भनी प्रयोग नगर्नुहोला । यस्तो प्रयोगलाई अपमानजनक मानिछ । पारलैङ्गिक व्यक्ति, पारलिङ्गी महिला, पारलिङ्गी व्यक्तिहरूले नेतृव गरेको संस्था, इत्यादी रूपमा प्रयोग गर्नुहोला ।

गैर-द्वयसांखिक व्यक्ति (Non-binary person) : ती व्यक्तिहरू जसको लैङ्गिक पहिचान तथा प्रस्तुतीकरण महिला र पुरुषको द्वयसंख्या (बाइनेरी)मा अटाउँदैन र आफूलाई महिला वा पुरुषको द्वयसंख्यामा पहिचान गर्दैनन्, ती व्यक्तिहरू गैर-द्वयसांखिक व्यक्तिहरू हुन् । लैङ्गिक द्वयसंख्याभन्दा बाहिरका विविध लैङ्गिकताहरूलाई जनाउने छाता शब्द गैर-द्वयसांखिक हो । यस छाता अन्तर्गत थुप्रै लैङ्गिक पहिचानहरू पर्दछन् जस्तै आफू कुनै लैङ्गिकतासँग सम्बन्ध नराख्ने अलिङ्गी, महिला र पुरुष दुबै भनेर पहिचान गर्ने दुईलिङ्गी, गैरानुरूपलिङ्गी, तरल लैङ्गिकता भएका द्रवलिङ्गी, अर्धलिङ्गी, इत्यादी ।

तेस्रोलिङ्गी व्यक्ति (Third Gender person) : दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू छन् । सामाजिक मूल्य मान्यता अनुसार तेस्रोलिङ्गी व्यक्तिहरूलाई अलौकिक मानिन्छ र उनीहरूले दिएको आशिर्वाद र श्राप लाग्दछ भन्ने मान्यता समेत रहेको र उनीहरू कुनै सुखद अवशर जस्तै विवाह, नवजन्म शिशु, इत्यादीमा नाच गान गर्ने, आशिर्वाद दिने परम्परागत पेशा पनि गर्दछन् । कतिपय तेस्रोलिङ्गी समुदायहरूको लामो इतिहास नै छ, उनीहरूको छुट्टै स्थानमा समुदायगत बसोबास हुन्छ र आफ्नो समुदायमा कोही भित्रन चाहेमा, समुदायमा भित्री सकेपछी, समुदायमा कसैको मृत्यु हुँदा बखतका चलन, परम्परा र रीतिरिवाज र कतिपय अवस्थामा समुदायको आफ्नै छुट्टै भाषा वा भाषिका समेत हुने गर्दछ । दक्षिण एसियामा यस्ता अनेकौँ समुदायहरू छन् र ती समुदायको आफ्नै सामाजिक व्यवस्था र प्रणालीहरू हुन्छ । दक्षिण एसियामा हेर्दा यी तेस्रोलिङ्गी समुदायहरू हिजडा, किन्नर, मंगलामुखी, पावैया, ख्वाजासिरा, खुस्रा, खसुआ, अरवानी, इत्यादी हुन्छन् भने नेपालमा मेटी, कोथी, घाँडे, मौगियाह, मैंबाबु, फुलुमुलु, फोलोक मोलोक, इत्यादी हुन्छन् ।

नोट : इतिहासको कुनै कालखण्डमा सामाजिक लैङ्गिक परिभाषा अनुरूप लैङ्गिक प्रस्तुतीकरण र अनुभव नभएका व्यक्तिहरूलाई समाजमा बस्न गाह्रो हुने वा सामाजिक वहिष्कार समेत हुने वा आफू कुण्ठित भएर बाँच्न बाध्य भएकाले उनीहरूले मूलधार समाज भन्दा ताढा आफ्नो छुट्टै समाजमा बस्न गएकाले आफ्नो छुट्टै संस्कृति, रीतिरिवाज, भाषिका र व्यवस्था समेत विकास भयो । यो अहिलेको बदलिँदो सामाजिक परिवेशमा सबैका निम्ति सान्दर्भिक छैन । सबै गैर-त्याचलिङ्गी व्यक्तिहरू यी समाजका हिस्सा हुन जाँदैनन् र त्यस्ता रहनसहन अपनाउँदैनन् । तसर्थ तेस्रोलिङ्गी शब्दले सबै गैर-त्याचलिङ्गी व्यक्तिहरूलाई समेट्दैन । यो परम्परागत मूल्य मान्यता अनुसार बनेको समाज हो भने अहिलेको परिस्थिमा सबैलाई अनुकूल वा सान्दर्भिक छैन । तेस्रोलिङ्गी भनेको सबै गैर-त्याचलिङ्गी व्यक्तिहरूलाई समेट्ने छाता शब्द होइन ।

मृतनाम (Deadname): मृतनाम भन्नाले कुनै पनि व्यक्ति (विशेष गरी पारलैङ्गिक, गैर-द्वयसांखिक तथा तेस्रोलिङ्गी व्यक्तिहरूलाई) लाई शिशुवास्थामा आफ्नो अभिभावक वा संरक्षकले राखिदिएको त्यस नाम जुन नीजको लैङ्गिक पहिचान अनुरूप छैन, अक्सर सामाजिक मान्यताहरू अनुसार जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लिंगसँग सम्बन्धित हुने र आफ्नो स्वःअनुभूतीको लैङ्गिक पहिचानसँग मेल नखाने र आफ्नो लैङ्गिक पहिचान खुलेर जीवनयापन गरिसकेपछि त्याग गरिएको नाम भनी सम्झनु पर्छ । अधिकांश पारलैङ्गिक, गैर-द्वयसांखिक तथा तेस्रोलिङ्गी व्यक्तिहरूले आफ्नो स्वःअनुभूतीको लैङ्गिकतामा जीवनयापन गर्न थालिसकेपछी आफूले इच्छाएको नाम रोज्छन् र त्यही नामले चिनाउँछन् । उक्त नाम उनीहरूको लैङ्गिक पहिचानसँग सम्बन्धित विषय हो । यसमा नीजले आफ्नो स्वःअनुभूतीको लैङ्गिकता हासिल गर्न अघिको नामलाई त्याग गर्ने गर्दछन् जसलाई मृतनाम भनिन्छ । कुनै व्यक्तिलाई नीजको मृतनामबाट सम्बोधन गर्नु (Deadnaming someone) नीज प्रति अपमानजनक व्यवहार र दुर्व्यवहार हो ।

लैङ्गिक दुस्बोधन (Misgender): कुनै पनि व्यक्तिलाई (विशेष गरी पारलैङ्गिक, गैर-द्वयसांखिक तथा तेस्रोलिङ्गी व्यक्तिहरूलाई) उनीहरूको लैङ्गिक पहिचान नझल्कने शब्दहरू लैङ्गिक शब्दहरूको प्रयोग गर्नु वा उनीहरूले आफूलाई सम्बोधन गराउन चाहेको लैङ्गिक शब्दहरूको प्रयोग नगर्नु भनी सम्झनु पर्छ ।

यौन अभिमुखिकरण (Sexual orientation) : कुनै पनि व्यक्ति कुन लैङ्गिकताका अरु व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक (sexual and romantic) आकर्षण महसुस गर्दछ भन्ने आधारमा नीजको यौनिक पहिचानलाई यौन अभिमुखिकरण भनिन्छ । यौन अभिमुखिकरणको विविधतामा विषमयौनिक (Heterosexual/Straight) : आफू भन्दा फरक लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति; समयौनिक (Homosexual) : आफू जस्तै / उस्तै लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति (समयौनिक पुरुष : Gay, समयौनिक महिला : Lesbian); द्वियौनिक (Bisexual) : आफू भन्दा फरक लैङ्गिकता र आफू जस्तै लैङ्गिकता दुबै प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति ; सर्वयौनिक (Pansexual) : सबै खाले लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति वा यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्न लैङ्गिकता बाधा नपर्ने व्यक्ति ; अयौनिक (Asexual) : कुनै प्रकारको यौन तथा/वा प्रणयात्मक आकर्षण महसुस नगर्ने व्यक्ति लगायतका यौनिक पहिचानहरू पर्दछन् । यौन अभिमुखिकरण सम्बन्धी अत्याधिक प्रयोगमा आएका शब्दहरू यिनै भएतापनि यतिमा मात्र सीमित छैन ।

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति : आफ्नो यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र/वा यौन विशेषताका कारण हाम्रो सामाजिक मूल्य मान्यता र व्यवस्थामा सामाजिक स्वीकार्यता नभएका, समाजले "सामान्य" नठानेका र समाजमा विभेद, लाञ्छना, घृणा लगायतका सामाजिक र व्यवस्थात्मक उत्पीडन तथा सिमान्तिकरण भोग्नुपर्ने व्यक्तिहरू । यौन विशेषताको कुरा गर्दा अन्तर्लिङ्गी व्यक्तिहरू; लैङ्गिक पहिचानको कुरा गर्दा गैर-त्याचलिङ्गी लैङ्गिक पहिचान भएका व्यक्तिहरू र यौन अभिमुखिकरणको कुरा गर्दा गैर-विषमयौनिक व्यक्तिहरूलाई बुझाउने छाता शब्द ।

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई छोटकरीमा क्वयेर (Queer) व्यक्तिहरू पनि भन्न सकिन्छ ।"क्वयेर" शब्दको प्रयोग शैक्षिक क्षेत्रमा व्यापक छ भने युवा पुस्ताले पनि यही शब्दको अधिकतम प्रयोग गर्दछ । नेपालको संविधानमा "लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक" उल्लेख गरिएको छ तर उक्त शब्दावली भन्दा पनि "सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" अझै ठ्यक्कै बुझाउने र उपयुक्त शब्दावली हो ।

छाता शब्दको प्रयोग : माथी उल्लिखित परिभाषाहरूले धेरै विषयहरू स्पष्ट पारिसके होला । तर छाता शब्दको प्रयोगमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । असान्दर्भिक ढङ्गले छाता शब्दको प्रयोग गर्नु हानिकारक हो । जस्तै: यो मागपत्र लैङ्गिक पहिचानसँग सम्बन्धित छ । उदाहरणको लागि लैङ्गिक पहिचानसँग सरोकार राख्ने कानुन बनाउँदा त्यसलाई जनाउन "सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" छाता शब्दको प्रयोग गर्यो भने त्यो हानिकारक र अतार्किक बन्छ किनभने त्यस विषयमा यौन अभिमुखिकरणसँग कुनै सरोकार नै छैन । त्यसै गरी राज्यले यदि पारलैङ्गिक व्यक्तिहरूकै विशेष समस्यालाई सम्बोधन गर्न खोजेको हो भने त्यस दस्तावेजमा पनि "पारलैङ्गिक व्यक्ति" भनेरै उल्लेख गर्नु पर्छ । वा गैर-द्वयसांखिक व्यक्तिका विषयवस्तुमा निम्ति कानून बन्दैछ भने त्यसमा "गैर-द्वयसांखिक" भनेरै उल्लेख गर्नुपर्छ । तर नेपालको परिपक्ष्यमा "सबैलाई समेट्नु पर्छ" भनेर जस्तोसुकै कानूनमा पनि "लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक" उल्लेख गरिदिने गरिएको छ । एउटा उदाहरण त अन्य जनाई नागरिकता जारी गर्ने निर्देशिका पनि हो । खासमा महिला र पुरुषको द्वयसंख्यामा पहिचान नगर्ने व्यक्तिहरूलाई ल्याउनुपर्ने व्यवस्थामा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता तीनवटै फरक विषयलाई अत्यन्तै अन्योलतापूर्वक मिसाइदिएको छ । यसले अधिकारको सुनिश्चितता भन्दा पनि हनन बढी गर्छ । कतिपय फारमहरूमा महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लेखिन थालेको छ । उदाहरणका निम्ति प्यान नम्बर दर्ता गर्ने फारम । यसरी उल्लेख गर्दा त विविध यौन अभिमुखिकरणका व्यक्ति : समयौनिक, द्वियौनिक, सर्वयौनिक, इत्यादी व्यक्तिहरू महिला पनि होइन वा पुरुष पनि होइन भन्ने जस्तो अपव्याख्या हुन्छ । पारलैङ्गिक महिला तथा पुरुषहरू पनि महिला पनि होइन वा पुरुष पनि होइन वा अन्तर्लिङ्गी व्यक्तिहरू सबै महिला पनि होइन वा पुरुष पनि होइन भनेर अपव्याख्या हुन्छ । यो अत्यन्तै गलत र अनैतिक अभ्यास हुनका साथै भ्रामक र हानिकारक परिभाषा दिन्छ । त्यसैले छाता शब्दको प्रयोग उपयुक्त ढङ्गले नहुँदा झन थप हानि पुर्याउन सक्छ । तसर्थ छाता शब्दको प्रयोग जथाभावी अर्थ र सन्दर्भ नबुझी नगरौँ ।

निस्कर्ष :

लैङ्गिक पहिचानको मान्यता सम्बन्धीका मुद्दा विश्वव्यापी सरोकारका विषयहरू हुन् । परम्परागत द्वयसांखिक (बाइनेरी)का मूल्य मान्यताहरूले समेट्न नसकेका लैङ्गिक पहिचानहरू यी समाजहरूमा विभेद, लाञ्छना, दुर्व्यवहार, हिंसा, तिरस्कार र विभिन्न प्रकारका अवहेलनाका शिकार हुन बाध्य छन् । नेपालमा यो विषयमा माग उठेको सन् २००१ देखि हो भनिन्छ । सन् २००७ मा सर्वोच्च अदालतले पनि यस विषयलाई सम्बोधन गर्नुपर्छ भन्ने फैसला गरेका थिए । राज्यबाट पनि यस विषयलाई सम्बोधन गर्न प्रयासहरू भएका छन् तर आज सम्म पनि सही ढङ्गले यस लैङ्गिक विविधतालाई सम्बोधन गरिएको छैन । यस विषयमा बनेका केही थोरै कानूनी व्यवस्थाहरूले पनि यस विषयलाई सही ढङ्गले सम्बोधन नगरी समाजमा व्यापक भ्रम, सामाजिक लाञ्छनामा केन्द्रित भाष्यलाई नै संस्थागत गरेको छ । समाजको व्यापक पारम्पारिक अवधारणाकै कारण विविध लैङ्गिक पहिचानका व्यक्तिहरू विभेद, लाञ्छना, दुर्व्यवहार, हिंसा, तिरस्कार र विभिन्न प्रकारका अवहेलनामा परेका हुन् भने ती मूल्य मान्यता र त्यसमा आधारित परिभाषाहरूलाई परिमार्जन नगरी समावेशिता र सही ढङ्गले सम्बोधन भन्दा पनि ती सामाजिक भाष्यहरू नै थप पुनरुत्पादन भई अन्यकरण र अपवादिकरणका भाष्यहरू अझै सब्बल बन्न पुग्छ । कुनै निश्चित लैङ्गिक अनुभूती र पहिचानहरूलाई मात्र 'सामान्य' मान्ने भाष्यमा निर्माण भएको मूल्य मान्यताहरू भन्दा पर अझै समावेशी विविधा मैत्रीपूर्ण अवधारणा निर्माण गर्नका निम्ति भाषा र परिभाषा पनि परिमार्जित हुन्छ । साथै, सन् २००१ देखि २०२० सम्म विविधतापूर्ण लैङ्गिकता र यौनिकता बारेका डिस्कोर्समा धेरै विकास भैसक्यो र यसमा सन् २००१ वा यस अघिका विषयहरू अहिले सान्दर्भिक नै हुन्छन् भन्ने आवश्यकता छैन । तसर्थ समसामायिक ढङ्गमा अन्तर्राष्ट्रिय मूल्य मान्यताहरूलाई समेत मध्यनजरमा राखी अझै समावेशी विविधतामैत्रीपूर्ण अवधारणाहरू निर्माण प्रकृयामा राज्यले साथ दिनुपर्छ ।

सन् २०१८ देखि लूज-नेटर्वकको रूपमा संचालन भएको र सन् २०२० मा मुनाफा वितरण नगर्ने संस्थाको रूपमा स्थापना हुने प्रकृयामा गएको क्वयेर युथ ग्रुपले यस मागपत्र निर्माण र जारीका निम्ति विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, संजाल, समूह र व्यक्तिहरूलाई गरिएको आवहानले यो दस्तावेज निर्माण हुन र सार्वजनिक हुन सबैको सामुहिक मिहिनेत र योगदान रह्यो ।

जारी मिति : ११४० बछला २५, २०७७ जेठ ४, १७ मे २०२० - क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष पारी

2 Supporters

Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader Wireframe avatar loader
Letter to
नेपाल सरकार, श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
नेपाल सरकार, सबै मन्त्रालयहरू
नेपाल, सबै संवैधानिक आयोगहरू
नेपाल, संघीय संसद र प्रादेशिक संसदहरू
सबै

लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र

Updates

More updates...
Queer Youth Group start this petition
10 months ago

1 Comment

Shailee Chaudhary
Shailee Chaudhary

I am signing this petition because the existing laws and their interpretations are way too much derogatory. With inclusivity in mind, we need policies and laws which are actually gender centric.

2 Supporters
9,998 needed to reach 10,000
By signing, you accept changenepal’s Terms of Service and Privacy Policy, and agree to receive occasional emails about campaigns on changenepal. You can unsubscribe at any time.
Similar petitions
Bagmati, Central Development Region, NP
Save World Champion of Human Rights: Dr Govinda KC! (#PeopleFirst)
Petition to KP Sharma Oli

On 21st Aashar, 2069 B.S Dr. Govinda KC kicked off a hunger ...

manoj pur 55 supporters 36